दफा ४९
सङ्क्रामक रोगको रोकथाम, सूचना तथा उपचार
: (१) सङ्क्रामक रोगहरूको सूची नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(२) कुनै स्थानमा उच्च जोखिम युक्त सङ्क्रामक रोग देखिएमा सोको जानकारी स्वास्थ्य संस्था वा जनस्वास्थ्य अधिकारीलाई दिनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।
(३) कुनै व्यक्ति सङ्क्रामक रोगबाट प्रभावित भएको पाइएमा निजको उपचार व्यवस्थापन सम्बन्धित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले तत्कालै गर्नु पर्नेछ।
(४) सूचीकृत गरिएका सङ्क्रामक रोगहरूको बिरामी पहिचान भएमा सम्बन्धित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले तोकिएको मापदण्ड बमोजिम सम्बन्धित निकायमा तोकिएको समयावधिभित्र सूचना सम्प्रेषण गर्नु पर्नेछ।
(५) उपदफा (४) बमोजिम प्राप्त सूचनाको आधारमा प्रदेश र मन्त्रालयसँग आवश्यक सहयोग लिई समयमै थप अध्ययन र व्यवस्थापन गर्ने जिम्मेवारी तोकिए बमोजिम स्थानीय तहको हुनेछ।
(६) स्वास्थ्य संस्थाले सङ्क्रामक रोग लागेका बिरामीको उपचारको लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(७) सङ्क्रामक रोगको रोकथाम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।